काठमाडौं, मंसिर १५
भयानक दुर्घटनामा पनि पाँच जीवित
ब्राजिलको पहिलो डिभिजनको क्लब चफेकोएन्सका खेलाडी सवार विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ । चालक दलसहित ८१ जना सवार विमान दुर्घटनामा पाँचजनाको भने जीवितै उद्धार गरिएको छ । फुटबल टोली बोकेको विमान बोलिभियाबाट मंगलबार कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो । इलेक्ट्रोनिक समस्या उत्पन्न भएपछि कोलम्बियाको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको हो । दक्षिण अमेरिकाको दोस्रो ठूलो क्लबस्तरीय प्रतियोगिता कोपा सुडामेरिकानाको फाइनल खेल्न चफेकोएन्स क्लबको टोली बोलिभिया हुँदै कोलम्बियातर्फ उडेको थियो । फाइनलको पहिलो लेग चफेकोएन्स र कोलम्बियाको एट्लेटिको नेसनलबीच बुधबार हुने तय थियो ।
को हुन् दुर्घटनमा परेका खेलाडी ?
चफेकोएन्सका केही खेलाडीसँग युरोपियन लिग खेलेको अनुभव भए पनि राष्ट्रिय टोलीमा भने थिएनन् । इटालियन क्लब गुजेरियाबाट लोनमा आबद्ध भएका डिफेन्डर एनानियन चफेकोएन्सका सबैभन्दा चर्चित खेलाडी हुन् । २१ वर्षीय मिडफिल्डर माथिउस बेटेकोल पनि जर्मन क्लब होफेनहेमबाट लोनमा चफेकोएन्समा आबद्ध थिए । गोलकिपर मार्सेलो बेइकले पाँच वर्ष पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट खेलेका थिए । स्लेबर सान्टाना अर्का चर्चित खेलाडी हुन् । स्लेबरले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र मालार्काबाट फुटबल खेलेका थिए ।
इतिहासमा फुटबलरका विमान दुर्घटना
सन् १९४९ मा इटालियन क्लब टोनिकाका खेलाडी सवार विमान दुर्घटना हुँदा १८ खेलाडीको मृत्यु भएको थियो । बेनिफिकासँग प्रतिस्पर्धा गरेर फर्कने क्रममा विमान लिस्बनमा दुर्घटना भएको थियो । सन् १९५८ मा म्यानचेस्टर युनाइटेडका खेलाडी बोकेको ब्रिटिस युरोपियन एयरवेजको विमान पश्चिम जर्मनीमा दुर्घटना हुँदा २० खेलाडीको मृत्यु भएको थियो ।
सन् १९६० मा रोम ओलम्पिकमा भाग लिने जाने क्रममा डेनमार्कका फुटबलर चढेको विमान दुर्घटना हुँदा आठ खेलाडीको मृत्यु भएको थियो । सन् १९६९ मा बोलिभियाको फुटबल टोलीसहित ७८ जनाको विमान दुर्घटनामा मृत्यु भएको थियो । सन् १९७९ मा उज्वेकिस्तानको क्लब पाख्ताकोर तास्केन्टका खेलाडी चढेको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १ सय ७८ जनाको ज्यान गएको थियो । पाख्तकोरका खेलाडी बेलारुसको डाइनाभो किभसँग प्रतिस्र्धा गर्ने क्रममा युक्रेनमा दुर्घटनामा परेका थिए ।
सन् १९८७ मा पेरुका लिग लिडर एलिएन्जा लिमका १६ खेलाडीसहित ४३ जना विमान दुर्घटनामा मारिएका थिए । लिग म्याच खेल्न जाने क्रममा खेलाडी चढेको विमान लिमा एयरपोर्टमा दुर्घटनामा परेको थियो । १९८९ मा नेदरल्यान्डका १४ खेलाडीको विमान दुर्घटनामा मृत्यु भएको थियो । विभिन्न क्लबका खेलाडीहरु स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न जाने क्रममा आम्सटर्डर्ममा दुर्घटनामा परेका थिए । सो विमान दुर्घटनामा एक सय ७६ जनाको मृत्यु भएको थियो ।
१९९३ मा जाम्बियाका १८ राष्ट्रिय फुटबलरले विमान दुर्घटना ज्यान गुमाएका थिए । सेनेगलसँग विश्वकप छनोट खेल्न जाने क्रममा उनीहरु चढेको जाम्बियन एयरको विमान गाबोनमा दुर्घटना भएको थियो । जाम्बियाका तत्कालिन कप्तान कलुसा बिवाल्या अर्काै विमानमा गएकाले दुर्घटनाबाट जोगिएका थिए ।( नयाँ पत्रिका दैनिकमा खबर छ )