प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा संविधान संशोधनमा साथ दिन आग्रह गरेका छन् । एमालेलाई समेत मान्य हुने गरी प्रस्ताव तयार पार्ने भन्दै प्रचण्डले साथ दिन आग्रह गरेका थिए । ओलीसँग प्रचण्डले भने, ‘म अब संविधान संशोधनमा अगाडि बढ्न लागेँ, तपाईंको सहयोग चाहियो ।’ जवाफमा ओलीले प्रस्तावको अन्तर्वस्तुका आधारमा मात्र एमालेले आफ्नो धारणा बनाउने बताएका थिए ।

भेटपछि ओलीले सञ्चारकर्मीसँग भने, ‘संविधान संशोधन केमा, केका लागि किन गर्ने ? थाहा पाएको छैन ।’ माओवादी केन्द्रका नेता अनन्तका अनुसार एमाले पनि संविधान संशोधनमा सकारात्मक छ । ‘प्रदेशको सीमांकनसम्बन्धी संशोधन आओस् भन्नेमा एमाले पनि देखिएको छ,’ अनन्तले भने, ‘तर, संघीय आयोग र त्यसको टिओआरका विषयमा के–कस्तो हुने भन्नेमा एमालेसँग छलफल चलेको छ ।’ ओलीका सहयोगी राजेश बज्राचार्यले संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको बताए । जायज विषयमा प्रस्ताव आउँदा आफ्नोतर्फबाट सहमति हुने अन्यथा एमालेलाई स्वीकार्य नहुने धारणा ओलीले राखेको पनि बज्राचार्यको भनाइ छ ।

सरकारले प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वलगायतका विषयमा संविधान संशोधनको तयारी गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीसँग पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कञ्चनपुर तथा कैलाली जिल्लालाई संघीय आयोगमार्फत टुंग्याउने प्रस्ताव गरेका थिए ।

त्यस्तै, ५ नम्बर प्रदेशका तीन पहाडी जिल्ला गुल्मी, पाल्पा र अर्घाखाँचीलाई विगतमा कांग्रेस–एमालेकै नौबुँदे प्रस्तावमा समेटिएका आधारमा भए पनि हेरफेर गरेर जान सकिने प्रचण्डको भनाइ थियो । भाषाका विषय भाषा आयोगमार्फत टुंग्याउने, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वबारे दलहरूबीच सहमति खोज्नुपर्ने प्रचण्डले बताएका थिए । तर, एमालेको ५ नम्बर प्रदेश कमिटी भेलाले तीन जिल्ला झिक्न नदिने निर्णय गरेका थिए ।

ती जिल्ला अन्यत्र लैजान खोजिए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । ‘एउटा प्रदेशका तीन जिल्लालाई अर्कातिर लैजाने हो भने अर्काेतिरका जिल्ला कतै पनि लैजान हुन्न भन्ने तर्क कसरी पुष्टि हुन्छ ?’ एमाले उपाध्यक्ष भीम रावलले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Please share us on:

तपाईको प्रतिक्रिया