काठमाण्डौँ,कात्तिक, ४

प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित तीनैजना शीर्ष नेताले संविधान कार्यान्वयन रोक्ने षड्यन्त्र विफल पार्ने उद्घोष गर्दै तीनै तहको निर्वाचनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।cpnuml party

सरकार र सत्तारूढ दल निर्वाचन नै नगराई संवैधानिक तथा राजनीतिक शून्यता ल्याउने षड्यन्त्रमा रहेको भन्दै त्यसलाई चिर्न निर्वाचनको तयारी अघि बढाउन नेताहरूले निर्देशन दिएका थिए । बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन तयारीमा जुट्न निर्देशन दिएको सचेतक गोकुलप्रसाद घर्तीले जानकारी दिए ।

‘बैठकमा तीनैजना नेताको समान धारणा आएको छ, तीनै नेताले अब हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्,’ सचेतक घर्तीले राजधानीसँग भने, ‘उहाँहरूको निर्देशनअनुसार एमालेका सांसदहरू अब निर्वाचनको तयारीमा जुट्नेछन्, निर्वाचन नै नगराउने सरकार र सत्तारूढ दलको षड्यन्त्रलाई जनतामाझ लगेर भन्डाफोर गर्ने अभियान पनि चलाउनेछन् ।’

संसदीय दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले संविधान गतिशील दस्तावेज भएकाले केही कमीर कमजोरी भए सच्याउन सकिने तर अहिलेको प्रमुख उदेश्य संविधान कार्यान्वयन भएकाले संविधान कार्यान्वयनतिरै ध्यान दिनुपर्ने निर्देशन दिए । ‘संविधान गतिशील दस्तावेज हो, केही कमीकमजोरी भए सच्याउन सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद हरि उप्रेतीले भने, ‘तर अहिले संविधान कार्यान्वयनको समय भएकाले संविधान कार्यान्वयन भएपछि सच्याउन सकिन्छ ।’ वरिष्ठ नेता खनालले संविधानले सबै समुदाय र वर्गका अधिकार सुनिश्चित गरेकाले यसको कार्यान्वयनका लागि तीनै तहको निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘नयाँ संविधानमा सबैको अधिकार सुरक्षित र सुनिश्चित गरिएको छ, कसैको भड्काउमा लाग्न जरुरी छैन,’ खनालले भने, ‘संविधानको कार्यान्वयनले नै सबै समुदाय र वर्गको प्रगतिका साथै मुलुकले पनि उपलब्धि हासिल हुनेछ ।’ अर्का वरिष्ठ नेता नेपालले संविधानको कार्यान्वयनबाटै मुलुकको आर्थिक प्रगति हुने भएकाले संशोधनभन्दा पहिला त्यसको कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताए ।

‘संविधानमा संशोधन नै गर्न सकिँदैन भन्ने होइन, संविधान संशोधनीय भएकाले समय र जनताको मागअनुसार संशोधन गर्न सकिन्छ,’ नेपालले भने, ‘तर संविधान कार्यान्वयनका बेलामा संशोधनको हल्ला गर्नुले कार्यान्वयन पक्ष कमजोर हुन्छ त्यसैलै हामी सबै कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ।  (’ आजको राजधानी दैनिकमा खबर छ )

Please share us on:

तपाईको प्रतिक्रिया