काठमाडौं,कात्तिक ८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति निगरानीका लागि प्रयोग गरिने जासुसी संयन्त्र हटाएको छ । कार्यवाहक प्रमुख दीप बस्न्यातले निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई ब्रिफिङ नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
‘यसअघि प्रमुख आयुक्तले आफ्ना आलोचकको निगरानीमा प्रयोग गरिरहेको संयन्त्र निष्क्रिय बनाइएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘आम मानिसमा त्रास सिर्जना गरेको र नकारात्मक सन्देश गएकाले संयन्त्र हटाउनुपरेको हो ।’
स्रोतका अनुसार कार्यवाहक प्रमुख बस्न्यातले आयोगका कामकारबाहीबारे अन्यत्र सूचना प्रवाह नगर्न कर्मचारीलाई सचेत गराएका थिए । अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा पनि आयोगको अनुसन्धान प्रक्रिया र तिनको गोपनीयताको सवालमा जिम्मेवार रहन कर्मचारीहरूलाई आग्रह गरिएको छ ।
संसद्मा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनले नियुक्त गरेका केही विशेषज्ञ र करारका कर्मचारीले प्रमुख आयुक्तको सचिवालयमा रहेर कामकारबाही निगरानी गरेका थिए । त्यस्ता क्रियाकलापप्रति असन्तुष्ट बस्न्यातले निलम्बनपछि कार्यालय खुलेको तेस्रो दिन हस्तक्षेप गरेका हुन् ।
आयोगको कार्यालयमा सुरक्षाका लागि प्रयोग गरिएको कडा सुरक्षा संयन्त्र र एक्सरे चेक पनि निष्क्रिय बनाइएको छ । अख्तियारले आइतबार नै विज्ञप्ति जारी गरी निर्धारित आचरण र कानुनी मार्गनिर्देशनमा काम गर्न कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले निर्देशन दिएको जनाएको छ ।
प्रमुखविरुद्धको महाअभियोग प्रस्तावले आयोग स्तब्ध भएको उल्लेख गर्दै उनले घटनाविशेषका कारण आयोगको नियमित कामकारबाही प्रभावित नहुने स्पष्ट पारेका छन् ।( आजको कान्तिपुर दैनिकमा खबर छ )