काठमाडौं,कात्तिक ८
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको प्रक्रिया संसद्मा सुरु भएको छ । प्रस्तावमाथि छलफलका लागि मंगलबार दिउँसोको समय निर्धारण भएको छ ।
आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै छलफलका लागि मंगलबारको समय निर्धारण गरेकी हुन् । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेर एक सय ५७ सांसदले गत बुधबार कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
यस्ता छन् कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा आरोप
कार्कीलाई संविधानविपरीत त्रिभुवन विश्वविद्यालयका केही चिकित्सकलाई कारबाहीको निर्देशन दिएको, आफ्नो नजिकका नातेदारको सेयर स्वामित्वमा रहेको ललितपुरको किस्ट मेडिकल कलेजको विद्यार्थी सिटसंख्या थप्न मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिएको, न्यायमा अवरोध गरेकोजस्ता आरोपसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
दलहरूसँगको छलफलकै आधारमा प्रक्रिया अघि बढ्यो
महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएसँगै बिहीबार नै छलफलका लागि मिति र समय तोक्ने गरी सभामुखले कार्यसूची तय गरे पनि सरकारले केही दिन छलफलका लागि समय माग गरेकाले संसद्मा प्रक्रियाले प्रवेश पाएको थिएन । आइतबार भने सभामुखले दलहरूसँगको छलफलकै आधारमा प्रस्तावको प्रक्रिया अगाडि बढाएकी हुन् ।
कार्कीविरुद्ध यसरी बढ्दै छ महाअभियोग प्रस्ताव
संसद्मा मंगलबार प्रस्तावमाथि छलफल भएपछि सभामुखले संसद्को महाअभियोग सिफारिस समितिलाई पठाउनेछिन् । समितिले त्यसपछि अभियोगका आधार र कारणको खोजीका लागि कार्कीलाई सात दिनभित्र सफाइ पेस गर्ने समय दिनेछ ।
बढीमा ३० दिनभित्र महाअभियोग सिफारिस समितिले कार्कीविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा सिफारिससहितको प्रतिवेदन सदनसमक्ष दिनुपर्ने हुन्छ । त्यसरी सदनमा पुगेको सिफारिससहितको प्रतिवेदन सभामुखले संसद्मा प्रस्तुत गर्नेछिन् ।( आजको नयाँ पत्रिका दैनिकमा खबर छ )