काठमाडौं,असोज १३
देशभरि दुर्घटना बढिरहेका वेला यातायात व्यवसायीले भने नियम नमान्ने भन्दै आन्दोलन सुरु गरेका छन् । काभ्रेमा रुट परमिटविना नै सवारी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले सडकमै सवारी तेर्साएर आन्दोलन गरेका छन् भने काठमाडौंमा ठगी गर्दा कारबाही गरेको भन्दै ट्याक्सीचालकहरू आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीका अगुवाहरूले सिट संख्याभन्दा धेरै यात्रु राख्न नपाउने हो भने सरकारले निःशुल्क इन्धन दिनुपर्ने हास्यास्पद माग राखेका छन् ।
गत ३० साउनमा काभ्रेको कोसीपारिमा २७ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनापछि जिल्लामा रुट परमिट नलिई सवारी चलाउन रोकियो । कच्ची सडकहरूमा यात्रुबाहक सवारी चलाउँदा दुर्घटना बढेको भन्दै सरकारले काभ्रेलगायत विभिन्न जिल्लामा रुट परमिटविना सवारी चलाउन रोक्यो । तर, रुट परमिटविनै सवारी चलाउनुपर्ने माग राखी बुधबार बिपी राजमार्ग ठप्प पारियो । जसका कारण हजारौँ यात्रु मर्कामा परे ।
गत वैशाखदेखि ट्राफिक प्रहरीले उपत्यकामा धेरै भाडा असुल्ने तथा मिटरमा चल्न नमान्ने ट्याक्सीविरुद्ध कारबाही तीव्र बनायो । यातायात व्यवस्था विभागले पनि पहिलेभन्दा दोब्बर जरिवाना गर्न थाल्यो । त्यसपछि ट्याक्सी व्यवसायीहरू पनि आन्दोलनमा उत्रिए । भाडा बढाउनुपर्ने मागको आवरण दिएर ट्याक्सीमाथि भइरहेको कारबाहीको विरोध गर्दै उनीहरूले मंगलबार राजधानीमा ट्याक्सी ¥याली निकाले ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालका अनुसार वैशाखयता यात्रुसँग बढी भाडा असुल्ने तीन हजार ट्याक्सी कारबाहीमा परेका छन् । यात्रु ठग्नेविरुद्ध प्रहरी महाशाखाले अभियान नै चलाएर कारबाही थालेपछि पाँच महिनामा उपत्यकामा चल्ने नौ हजार ट्याक्सीमध्ये ३३ प्रतिशतभन्दा धेरै कारबाहीमा परे । सो तथ्यांकले एक–दुई ट्याक्सीले होइन, संगठित रूपमै अधिकांश ट्याक्सीले यात्रुमाथि ठगी गर्ने गरेको देखियो । यातायात व्यवस्था विभागले पनि पहिला दुई हजार रुपैयाँ जरिवाना गर्ने गरेकोमा पाँच हजार रुपैयाँ जरिवाना लिन थाल्यो । त्यसपछि ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।(आजको नयाँ पत्रिका दैनिकमा खबर छ )