काठमाडौं,असोज ८
खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि पानी व्यवस्थापन निकै खर्चिलो बन्न पुगेको छ । महसुल नतिरेको भन्दै तत्कालीन मुमाबडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको आपूर्ति आठ वर्षअघि काटिएको थियो ।
खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन । तत्कालीन मुमाबडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको छ ।
खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ ।
रत्न शाहको रेखदेखमा खटिएका दरबारका पूर्वसचिव शम्भुप्रसाद अधिकारीले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई एक पटकमा ८२० रुपियाँ बुझाउनुपर्छ । दुई ट्याङ्कर पानी दैनिक चाहिन्छ ।’
‘यसरी पानी ओसार्दा निकै समस्या भएपछि नेपाल सरकारका मुख्य सचिवसम्मलाई गुहार्यौँ तर उहाँहरूबाट टाउको नदुखाउनुहोस् भन्ने जवाफ पायौँ’, उनले भने । महेन्द्र मञ्जिलका लागि पानी खरिदमा मासिक ५० हजार रुपियाँ खर्च हुँदै आएको छ भने ट्याङ्करको इन्धन र मर्मत खर्च अतिरिक्त लाग्दै आएको छ ।
ट्याङ्कर पुरानो भएकाले बिग्रिएर धेरै दुःख दिने गरेको गुनासो गर्दै उहाँले डिजेल पनि धेरै खपत हुने गरेको बताए । तत्कालीन राजा वीरेन्द्र भएकै बेला नारायणहिटी दरबारमा खानेपानीको अभाव भएपछि इनार खन्नुपर्ने वा बोरिङ गर्नुपर्ने विषय त्यहाँका कर्मचारीले उठाएका थिए ।
तर, तत्कालीन राजा वीरेन्द्रले राजपरिवारमा इनार खन्ने चलन नभएको र बोरिङ गर्दा पानीको सतह घट्नसक्ने भएकाले पानी ओसार्नु नै उपयुक्त हुने भन्दै ट्याङ्कर किन्न आदेश दिएका थिए । सोही अनुसार २०५५ सालमा छ हजार लिटर क्षमताको पानी ट्याङ्कर किनिएको थियो ।( आजको गोरखापत्र दैनिकमा खबर छ )