आश्विन २, २०७३( लोथर ७, स्यामराङका रेशम चेपाङ बाख्राको खोरमा सुत्न थालेको डेढ वर्ष हुन लाग्यो। भूकम्पले भत्किएको घर अझै ठडिने सुरसार छैन। अनिकालमा फलेको मकै थन्क्याउने ठाउँसम्म छैन, खोरमै आड लगाएका छन्। ‘घर बनाउन अझै सहयोग पाइएन,’ उनले बिलौना गरे, ‘हामी गरिबलाई मात्रै नदिएका हुन् कि, केही थाहा छैन।’

बसाइ त कष्टकर छ नै, त्यसमाथि हरेक वर्ष ६ महिना जति अनिकालबाट गुज्रिनुपर्दा चेपाङ परिवारले सुखको अनुभूति गर्न पाएको छैन। ‘भूकम्पले पनि गरिबलाई नै सताउँदो रै’छ,’ उनले भने, ‘न घर बनाउन सकियो, न त सरकारले सहयोग गर्‍यो।’ खोरमा जसोतसो झरी सहे पनि जाडो कटाउन सकस हुने बताउँछन्, रेशम। ‘शरीर ढाक्ने न्यानो लुगा छैन, यस्तोमा जाडो कसरी पार गर्ने होलारु,’ उनले भने, ‘सरकार फेर्न सक्नेले हाम्रो पीडा बुझेनन्।’

यो गाउँका भूकम्पपीडित २९ परिवार घर कहिले पाउने भन्ने अन्योलमा छन्। उनीहरूका स्थानीयका समस्या बुझ्न कोही गएका छैनन्। छानो हाल्न विभिन्न संघसंस्थाले दिएका जस्तापाता अलपत्र छन्। केहीले जस्ताले बारेर बस्ने ठाउँ बनाएका छन् भने केहीले थन्क्याएर राखेका छन्। अधिकांश पीडित बाख्राको खोर, गाईगोठ, टहरो र ओढारमा आश्रय लिइरहेका छन्। भूकम्पलगत्तै राहत बाँड्नेको भीड लागे पनि अहिले सुनसान छ। ‘चेपाङलाई हेर्ने कोही भएनन्,’ अगुवा झ्यापुराम चेपाङले भने, ‘झरीमा भिजेका चेपाङलाई सरकारले घर बनाइदिए जाडोमा कठ्यांग्रिएर मर्नुपर्ने थिएन।’

पीडितमध्ये कसैलाई पनि घर बनाउन कति रकम पाउने, कहिलेबाट बनाउन सुरु गर्ने भन्ने थाहा छैन। ‘सबै गाउँले सरकारको आसमा छन्,’ स्थानीय दुङबाङ प्राविका प्रधानाध्यापक अतिबल चेपाङले भने, ‘कस्तो घर बनाउने थाहा छैन, आफैं जान्ने हुँदा भूकम्पले फेरि भत्किने हो कि भन्ने डरले कसैले सुरु गरेका छैनन्।’ जाडोअघि नै घर तयार नभए पीडितको बिचल्ली हुने उनले बताए।

अघिल्लो वर्षको शक्तिशाली भूकम्पले जिल्लाको पहाडी गाविसमा बढी क्षति पुर्‍याएको छ। विभिन्न संघसंस्थाले टहरा बनाइदिए पनि पीडित अहिले त्यहाँ बस्दैनन्। बस्ने ठाउँ टाढा हुँदा खेतीबाली लगाउन नपाएको भन्दै पीडित भग्नावशेषमै फर्किएका छन्। घर अभावमा उत्पादित अन्न थन्क्याउन सकस भएको अधिकांश पीडितको गुनासो छ। जिविस सूचना अधिकारी बलराम लुइँटेलका अनुसार जिल्लाभरि ३ हजार ७ सय २५ घर पूर्ण रूपमा क्षतिग्रस्त छन्। त्यस्तै, १२ हजार २४ घरमा आंशिक क्षति छ। ४ सय १६ परिवार विस्थापित भएका छन्। ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनस् तथ्यांक लिएर पठाउन भन्दै कार्यालयमा चिठी आएको छ,’ लुइँटेलले भने, ‘यसबारे नगरपालिका र गाविसलाई जानकारी गराइसकेका छौं।’ उनका इन्जिनियर आएर अनुगमन गरेपछि घर कस्तो र कसरी बनाउने भन्ने टुंगो लाग्नेछ।

विपन्नलाई भूकम्पप्रतिरोधी घर
शक्तिशाली भूकम्पयता टहरामा बस्दै आएकी मवानपुर, आग्रा गाविसकी कान्छीमाया गोले १६ महिनापछि सुरक्षित घरमा सरेकी छन्। शीत र पानी चुहिने टहरामा बस्दै आएकी आग्रा ५ की ५४ वर्षीया गोले भदौ १५ गते भूकम्पप्रतिरोधी घरमा प्रवेश गरेकी हुन्। छाक टार्न छिमेकीको मेलापात धाउनुपर्ने बाध्यता छ गोलेलाई। चार सन्तानकी आमा उनले भनिन्, ‘पक्की घरमा बस्न पाइएला भनेर कल्पनै गरेकी थिइनँ।’ साढे चार लाख रुपैयाँ लागतमा निर्मित दुई तले भवनमा सोलार र अर्थिङ पनि जडान गरिएको छ। आधुनिक चर्पीसहित सुधारिएको चुलो छ। भान्सासहितको तीनकोठे भवनको तीन महिनाअघि शिलान्यास गरिएको थियो। ‘माथिल्लो तलामा मालसामान राख्न हुने गरी बनाइएको छ,’ राडो नेपाल जिल्ला प्रमुख कृष्ण धितालले भने, ‘पीडितमध्ये सबैभन्दा विपन्न छनोट गरेर भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको हो।’

टियरफन्डको आर्थिक सहयोगमा राडोले ३८ नमुना घर बनाई विपन्न र एकल महिलालाई हस्तान्तरण गरेको धितालले जानकारी दिए। संस्थाले २ गाविसका तीनरतीन सय गरी ६ सय परिवारलाई घर बनाउन साढे २ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। पुनर्निर्माण प्राधिकरणसँग स्वीकृति लिएर जिल्लाका उत्तरी दुई गाविसका ६ सय पीडितलाई घर बनाइदिन अनुदान सहयोगको सम्झौता भइरहेको छ। यसक्रममा संस्थाले बुधबारसम्म १६ हजार ६ सय ५७ लाभग्राहीसँग सम्झौता गरिसकेको छ।( कान्तिपुर दैनिक खबर छ)

 

Please share us on:

तपाईको प्रतिक्रिया