आश्विन २, २०७३( १३ औं महाधिवेशनपछि कांग्रेसको आन्तरिक शक्ति सन्तुलन उल्टिएको छ। सभापति शेरबहादुर देउवा पार्टीमा हावी बन्दै गएका छन् भने लामो समय पार्टीसत्तामा रहेको पुरानो संस्थापन पक्ष कमजोर बनेको छ।
पछिल्लो उदाहरण हो, नेपाल महिला संघ। शनिबार सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट सभापति देउवा पक्षको प्यानल एकलौटी विजयी भयो। अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित ५६ सदस्यका लागि भएको निर्वाचनमा पौडेल पक्षबाट खुलातर्फका सदस्यमा कल्याणी रिजालबाहेक कोही आउन सकेनन्। यसअघि नेविसंघको महाधिवेशनमा पनि नेतृत्वसहित बहुमतमा देउवा पक्ष विजयी भयो।
तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पुरानो संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्। पार्टीभित्र छुट्टै गुटको नेतृत्व गर्दै आएका देउवा १३ औं महाधिवेशनपछि पार्टी सत्ताको केन्द्रमा आएका हुन्। तीन पटक प्रधानमन्त्री भए पनि पार्टीको नेतृत्वमा आउन भने उनले लामै समय कुर्नुपर्यो।
१२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवा १३ औं महाधिवेशनमा आफ्नै ‘दांैतरी’ पौडेललाई पराजित गरी सभापति चुनिए। यो सँगै पछिल्लो दुई दशकसम्म कोइराला परिवारको नेतृत्वमा रहेको पार्टी देउवाको हातमा पुग्यो। लगत्तै उनले संसदीय दलको नेतामा जिते। पार्टी एकीकरण पछि हुन नसकेका भ्रातृ संस्थाका अधिवेशन सुरु भए र देउवा पक्ष एकपछि अर्को जित हासिल गर्दै अघि बढेको छ। नेविसंघ र महिला संघका महाधिवेशनले देशभर नै पकड जमाएको पुरानो संस्थापन पक्ष क्रमशस् कमजोर बन्दै गएको देखाएका छन्।
तत्कालीन पार्टी प्रवक्ता दिलेन्द्र बडु भने पुरानो संस्थापन पक्ष कमजोर भएको तर्क मान्न तयार छैनन्। १३ औं महाधिवेशनपछि निरन्तर व्यहोर्नुपरेको हारलाई बडु संस्थापन पक्षभित्रकै विभाजनलाई मुख्य कारक मान्छन्। कोइराला परिवारका सदस्यहरू रहेकै ठाउँ संस्थापन हुने तर्क गर्दै बडुले विभिन्न स्वार्थ र अपेक्षा राखेर गएकाहरू फेरि आफ्नै समूहमा फर्कने बताए। ‘कुनै एउटा चुनावको हारजितले कमजोर र बलियो हुने होइन। हार्नेहरू भोलि जित्छन्। तयारी गर्नुपर्छ। संस्थापन पक्षभित्रकै विभाजन नै अहिलेको अवस्था आउनुको मुख्य कारण हो।
पार्टीमा दुई हिस्सा एकातिर भएपछि अवश्य नै जित्ने भयो’, बडुले दाबी गरे, ‘तर यो धेरै दिन टिक्दैन। किनकि त्यहाँ ९देउवा पक्षमा० विभिन्न स्वार्थ र अपेक्षा राखेका मानिसको भीड छ। त्यो पूरा नहुनासाथ फर्कने हामीतिरै हो। बेलाबखत यस्ता विचलन देखिन्छन्। पुनस्स्थापना गर्दै जाँदा हाम्रो धार नै बलियो हुन्छ। एकरदुई चुनावले आत्तिन हुन्न।’ देउवाको वर्चस्व स्थापित हुनुमा बडुले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको साथ देउवातिर हुनुलाई मुख्य कारक मानेका हुन्। १३ औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व लिएका सिटौलाका पछि गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानसहितको टोली छ। सिटौलाले आफू बाहिरिएपछि पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए। त्यसपछि संसदीय दलको नेतामा पनि देउवातिर लागे।
आफ्नो समूहको स्थान बढाउँदै जाने रणनीतिका साथ सिटौला देउवासँग सम्झौता गर्दै अघि बढेका छन्। नेविसंघ र महिला संघमा यही रणनीतिका कारण सिटौला सफल बनेका छन्। देउवा निकट केन्द्रीय सदस्य एनपी सावद भने भ्रातृसंस्थाका चुनावको परिणामलाई हेरेर त्यस्तो निष्कर्ष निकाल्न नमिल्ने बताउँछन्। ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई कसैको हार र जितको रूपमा लिन हुन्न,’ उनले भने, ‘हार्ने पक्षलाई जित्नेले समेट्नुपर्छ र जित्नेलाई हार्ने पक्षले सहयोग गर्नुपर्छ। सबै भ्रातृ संस्थालाई एक बनाउनुपर्छ।’
महिला संघमा रेग्मी प्यानल
नेपाल महिला संघमा संस्थापन पक्ष अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित ५५ सिटमा विजयी भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने खुला एक सदस्यमा मात्रै जित हासिल गरेको छ।
शनिबार सम्पन्न मतगणनामा अध्यक्षकी प्रत्यासी उमा रेग्मीले २ सय २ मतको अन्तरमा प्रतिस्पर्धी मीना पाण्डेलाई पराजित गरेकी छन्। रेग्मीले ९ सय ९८ र पाण्डेले ७ सय ९६ मत प्राप्त गरेका थिए। महासचिवमा रेग्मी प्यानलकै धना खतिवडाले जितेकी छन्। उनले ९ सय ९८ मत ल्याएकी थिइन् भने उनकी प्रत्यासी गोमा केसीले ७ सय ७६ मत पाइन्। खतिवडा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षकी उम्मेदवार हुन्। निर्वाचनमा सभापति देउवा र सिटौला पक्षको संयुक्त प्यानल बनाइएको थियो।
कोषाध्यक्षमा कुसुमदेवी थापालाई पराजित गर्दै जानकी सिंह विजयी भइन्। निर्वाचत केन्द्रीय सदस्यहरूमा खुलातर्फ मञ्जु खाँड, कल्याणी रिजाल, अनिता ज्ञवाली, अनु गुरुङ, इन्दिरा भट्टराई, गोमा आचार्य जोशी, चन्दा कार्की, चिन्ताकुमारी वाग्ले, जुनाकुमारी दानी, डोल्मा तामाङ, तारादेवी अधिकारी, नन्दकुमारी लम्साल, नन्दा बम, निर्मला बस्ताकोटी, भद्रा भण्डारी, मोदती केसी, रश्मी घिमिरे, लता घिमिरे, शोभा चेम्जोङ, सीता नेपाल, सुमित्रा शर्मा र सुशीला उप्रेती छन्।
प्रदेश नं १ बाट गोमादेवी भट्टराई, भगवती पौडेल, सीता कार्की, प्रदेश नं २ बाट उषा राउत, लक्ष्मी बराल, संगीता कर्माचार्य, प्रदेश नं ३ बाट कविता इटनी, गोमादेवी गुरुङ, समिता खड्की, प्रदेश नं ४ बाट चिनु पोखरेल, पार्वती आचार्य, सरस्वती अर्याल, प्रदेश नं ५ बाट गिरिजादेवी न्यौपाने, मिश्रीकुमारी हमाल, रमा पन्त ज्ञवाली, प्रदेश नं ६ बाट दीपा बोहरा, पद्म शाह, सुशीला बम र प्रदेश नं ७ बाट कान्ता चन्द, समिता देउवा र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन्।
समावेशी कोटामा दलिततर्फ छाया सुनार, राधिका भुजेल, रूपा विक, जनजातिबाट पसी शेर्पा, माया राना, रेनुका काउचा, मधेसीबाट नीलम कर्ण, मञ्जुकुमारी यादव, लखीकुमारी गणेश र मुस्लिमबाट रानी खातुन निर्वाचित भएका छन्। सिटौला पक्षले संयुक्त प्यानलमा रहेका आफ्नो पक्षका २२ जनाले जित हासिले गरेको दाबी गरेको छ। करिब २२ सय मतदाता रहेकामा १८ सय १४ ले मतदान गरेका थिए। ५६ सदस्यका लागि भएको निर्वाचनमा १ सय २६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।( आजको कान्तिपुरमा खबर छ )