कार्तिक २०,
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भूतपूर्व गोरखा सैनिकहरूको सुविधा बढाउने प्रतिबद्धता गरेका छन् । शुक्रबार पोखरामा भूतपूर्व गोर्खा सैनिकले गरेको कार्यक्रममा उनले भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरूलाई पाएको सेवा तथा सुविधामा भारी वृद्धि गर्ने प्रतिबद्धता जनाए ।
नेपालमा रहेका पूर्वसैनिकहरूले वार्षिक तीन खर्ब १० अर्ब पेन्सन र अन्य सुविधाबापत पाएकोमा आउँदो वर्षबाट एक खर्ब बढाएर चार खर्ब दश अर्ब पु¥याउने उनले बताए । मुखर्जीले कल्याण कोष, छात्रवृत्ति, शिक्षा र अन्य विषयमा समेत रकम बढाउने बताए । कार्यक्रमकै बीचमा राष्ट्रपति मुखर्जीलाई भारतीय भूतपूर्व गोर्खा सैनिकहरूले ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, दूतावासमार्फत ज्ञापनपत्र बुझाएर सो विषयमा राष्ट्रपति मुखर्जीले सम्बोधन गरेका थिए ।
पूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ मुखर्जीले पूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ रहेको बताएका छन् । भारतीय सेनामा काम गरेर निवृत्त भएका पूर्वसैनिक र तिनका परिवारलाई सम्बोधन गर्दै उनले राष्ट्र निर्माणसँगै नेपाल–भारतको सम्बन्ध सुधार्ने काममा लाग्न उपस्थित सबैलाई आग्रहसमेत गरे । उनले आफू भारतीय सेनाको सर्वोच्च कमान्डरको हैसियतले वीर गोर्खाली सैनिकको अगाडि पोखरामा आएर बोल्न पाउँदा आफूमा गौरवको अनुभूति भएको बताए ।
प्राचीन कालदेखि नेपाल र भारतबीच घनिष्ठ, बहुमुखी, सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको बताउँदै उनले यो चिरकारसम्म निरन्तर रहने कामनासमेत गरे । हाल ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत रहेको र एक लाख २६ हजार सेवानिवृत्त भएको उनले बताए । ‘नेपाल र भारतको निकटतम् सम्बन्धको आधारस्तम्भ खुला सिमाना, चाडपर्व, रीतिरिवाज मात्रै होइन, भारतमा रहेका नेपाली वीर सैनिकको माया हो,’ मुखर्जीले भने । नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सरकार सधैँ तयार रहेको उनको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।