काठमाडौं,
देश स्थानीय निर्वाचनमा होमिएका बेला देशकै पूरानो पार्टी नेपाली कांग्रेस फुटेको छ ।fतत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग टक्कर परेपछि २०५८ सालमा शेरबहादुर देउवाले फुटाएको कांग्रेसलाई अहिले दिग्गज नेताहरुले फुटाएका हुन् । विना एजेण्डा पार्टी फुटाएर आफ्नै नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । तर, अहिले भने नयाँ पार्टीको नाम नेपाली कांग्रेस राष्ट्रवादी राखिएको छ ।
जसको प्रमुख एजेण्डा २०४७ सालको संविधान पुनर्स्थापना गरी क्रियाशिल गराउनु र सार्वभौम जनता र राज्यका सबै पक्षलाई अहिंसक आन्दोलनमा सक्रिय गराउनु रहेको छ ।
राष्ट्रवादी कांग्रेसमा को को छन् ?
४० वर्षसम्म नेपाली कांग्रेसमा कोषाध्यक्ष रहेका संस्थापक नेता रामबाबु प्रसाईको नेतृत्वमा ‘नेपाली कांग्रेस राष्ट्रवादी’ गठन भएको हो ।
कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री एवं काठमाडौं उपत्यकाका पूर्व मेयर पीएल सिंह, कांग्रेस केन्द्रीय सदस्य रहेका विपी पुत्र प्रकाश कोइराला, नेविसंघका संस्थापक संयोजक एवं ०४७ सालको संविधानका मस्यौदाकारसमेत रहेका वरिष्ठ अभिवक्ता देवेन्द्र नेपालीसहितका दिग्गज नेताहरु कांग्रेसबाट छुटिट्दै यो पार्टीमा संलग्न भएका छन् ।
किन फुट्यो कांग्रेस ?
कांग्रेसबाट अलग्एिका नेताहरुद्धारा जारी अपिलमा २०७२ सालमा घोषणा भएको संविधान नेपाल र नेपालीको हितमा नभएको र ०४७ सालको संविधान नै नेपालका लागि उत्कृष्ट संविधान भएको निष्कर्षसहित माओ पार्टी कांग्रेसले यसको मर्मविपरित हिडेकाले असन्तुष्ट जनाउँदै आफूहरुले ‘नेपाली कांग्रेस राष्ट्रवादी’ पार्टी खोलेको जनाइएको छ ।
उनीहरुले जबरजस्ती लाद्न खोजिएको २०७२ को संविधानलाई पूर्णतः खारेज गर्न माग समेत गरेका छन् । र, ०४७ को संविधान लागु गर्न माग गरेका छन् ।
‘नेपालको संविधान २०७२ ले देशलाई दलको दास बनाउन खोजेको छ,’ जारी गरिएको अपिलमा भनिएको छ– ‘संविधानको पद्धतिमा राज्य प्रमुख दलहरुको निकटमा निर्वाचन पद्धतिबाट आउने भएकाले राज्य प्रमुखको निर्वाचनको माध्यमबाट नेपालमा विदेशी शक्ति र तत्वहरुले खेल्न खोजेका छन् । यसलाई रोक्नु आजको आवश्यकता हो ।’
कांग्रेसबाट छुट्टिएको नयाँ पार्टीको महाधिवेशन वैशाख पहिलो साता हुने बताइएको छ ।
दैनिक नेपालबाट